ऐतिहासिक र सांस्कृतिक दृष्टिकोणले ओझिलो भिमसेनथापा गाउँपालिका (साबिक बोर्लाङ्ग गा.वि.स.) आफैँमा एक विशिष्ट पहिचान बोकेको पावन भूमि नेपालका प्रथम प्रधानमन्त्री एवं राष्ट्रिय विभूति भिमसेन थापा र राष्ट्र निर्माता पृथ्वीनारायण शाहका प्रख्यात ज्योतिषी कुलानन्द ढकालको जन्मस्थलका रूपमा सुप्रसिद्ध महान् व्यक्तित्वहरूको स्मृति र सम्मानलाई जीवन्त राख्दै, भिमसेन थापाको 'भिम' र कुलानन्द ढकालको 'कुल' शब्दलाई संयोजन गरी वि.सं. २०५२ सालमा यस 'भिमकुल बचत तथा ऋण सहकारी संस्था लिमिटेड' को परिकल्पना भयो । संस्थाको जन्म निकै नै सरल तर दृढ संकल्पका साथ ३१ जना दूरदृष्टि राख्ने व्यापारी, शिक्षक, बुद्धिजीवी, कृषक तथा महिलाहरूको सक्रियतामा भयो । वि.सं. २०५२ साल फाल्गुण ११ गते सहकारी ऐन २०४८ बमोजिम तत्कालीन डिभिजन सहकारी कार्यालय दमौलीमा विधिवत दर्ता भई यसले समुदायमा आफ्नो सेवा शुभारम्भ गरेको थियो । ग्रामीण परिवेशमा सहकारीको महत्व बुझाउदै सहकार्यप्रति आकर्षण नै सहकारी थियो । विश्वासको वातावरण निर्माण गर्नु, नेतृत्व विकास गर्नु र सामाजिक पहिचान स्थापित गर्नु तत्कालीन समयका मुख्य चुनौतीहरूका कारण हाम्रो अटुट मेहेनत, पारदर्शी कार्यशैली र सदस्यप्रतिको जिम्मेवारी बोधले गर्दा आज यो संस्था शेयर सदस्यहरूको एउटा विशाल र साझा चौतारी बन्न सफल भएको छ । वित्तीय बजारको प्रतिस्पर्धा र सदस्यहरूको मागलाई मध्यनजर गर्दै हामीले समयसापेक्ष नीति, नियम र कार्यविधिहरू परिमार्जन गर्दै लगेका छौँ । सक्षम व्यवस्थापन र सक्रिय सञ्चालक समितिको नेतृत्वमा संस्थाले आफ्ना सपनाहरूलाई साकार पार्दै संस्थाको विकासमा देखिन सक्ने सानातिना अवरोधहरूलाई चिर्दै सदस्यहरूलाई सुसूचित गराउनु र सहकारीताको वास्तविक मर्म बुझाउनु नै हाम्रो सफलताको आधार सहीत तीन दशकको यो गौरवशाली इतिहासलाई अनुभवको रूपमा ग्रहण गर्दै, हामी आगामी दिनमा अझ सशक्त, सुदृढ र सदस्यमैत्री वित्तीय सेवा प्रदान गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ ।